एलन मस्कको भविष्यवाणी: स्मार्टफोनको अन्त, न्युरालिङ्कको उदय

 


अर्बपति उद्यमी एलन मस्कले स्मार्टफोनलाई न्युरालिङ्कले विस्थापित गर्ने अभिव्यक्ति दिएका छन्। सामाजिक सञ्जाल एक्समा एक प्रयोगकर्ताको पोस्टमा रिप्लाई दिँदै मस्कले भविष्यमा स्मार्टफोनको प्रयोग नहुने बताएका हुन्।

 

"भविष्यमा स्मार्टफोन हुने छैनन्। केवल न्युरालिङ्क मात्र हुनेछ," उनले रिप्लाईमा लेखेका छन्।

 

मस्क मानव मस्तिष्कका लागि ब्रेन चिप प्रविधि विकास गर्ने कम्पनी न्युरालिङ्कका प्रमुख कार्यकारी अधिकृत समेत हुन्। भविष्यमा ब्रेन चिपको महत्त्वबारे चर्चा गर्दै उनले यस्तो धारणा राखेकाे अनुमान गरिएकाे छ।

 

अहिले २९ वर्षीय नोल्यान्ड अर्बाउको दिमागमा यो चिपको पहिलो चरणको परीक्षण भइरहेको छ। मस्कको प्यारोडी अकाउन्टबाट एआईद्वारा निर्मित उनको फोटो एक्समा राखिएको थियो। "सोचेकै भरमा एक्स फोन कन्ट्रोल गर्ने सुविधा भए के तपाईं आफ्नो मस्तिष्कमा न्युरालिङ्क जोड्नुहुन्छ ?," भन्ने प्रश्नको जवाफमा मस्कले भविष्यमा स्मार्टफोन नहुने संकेत गरेका हुन्।

 

न्युरालिङ्कको चिप परीक्षणका लागि छनोट भएका अर्बाउ पक्षघातद्वारा ग्रसित छन्। आठ वर्षअघि उनी गम्भीर दुर्घटनामा परेका थिए। २८ जनवरीमा सार्वजनिक भिडिओमा अर्बाउ कसरी निको भइरहेका छन् भन्ने देखाइएको थियो। त्यस्तै गत मार्चमा सार्वजनिक भिडिओमा अर्बाउले कम्प्युटरमा चेस खेलेको देखाइएको थियो। "न्युरालिङ्कको भाग हुन पाएकोमा आफूलाई भाग्यमानी ठान्छु," उक्त भिडिओमा अर्बाउले भनेका छन्, " हरेक दिन नयाँ नयाँ कुराहरू सिकिरहेको छु। यी सबै कार्म गरिरहँदा कस्तो महसुस गरिरहेको छु भनेर शब्दमा व्याख्या गर्न सक्दिनँ।"

 

हालै मात्र न्युरालिङ्कले परीक्षणका लागि दोस्रो व्यक्तिको आवेदन खुलाएको छ। सोचेकै भरमा फोन कम्प्युटर चलाउन सकिने भन्दै न्युरालिङ्क प्रत्यारोपण गर्न चाहने व्यक्तिले आवेदन दिन सक्नेछन्।

 

न्युरालिङ्कले विश्वव्यापी रूपमा चर्चा पाएसँगै विभिन्न किसिमका बाधा पनि सामना गरिरहेको छ। न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार न्युरालिङ्ककी पूर्वकर्मचारी लिन्ड्से शर्टले कम्पनी विरुद्ध उजुरी दिएकी थिइन्। कम्पनीले सुरक्षित साधनबिनै सङ्क्रमित बाँदरमा चिपको काम गर्न लगाएको बाँदरले कोतर्दा शरीरमा भाइरस सङ्क्रमणको जोखिम भएको उनले आरोप लगाएकी छन्। ती भाइरसले मानव मष्तिष्कमा गम्भीर क्षति पुग्ने वा मृत्युसमेत हुनसक्ने उनको भनाइ छ। त्यसबाहेक न्युरालिङ्कको प्रयोगबारे विभिन्न क्षेत्रमा बहस भइरहेको छ।

No comments:

If you have any doubts please let's me know

Powered by Blogger.